Wednesday, September 22
Shadow

आत्मालोचना गर्दै प्रचण्डले भने – केपी ओलीलाई तह लगाउन सकेनौं

शंकर लामिछानेका निबन्ध र लेखहरूलाई नेपाली साहित्यमा उच्चकोटीका रचना मानिन्छ । चेतनप्रवाह र प्रयोगशील लेखनका पर्याय लामिछानेको जीवन पनि त्यतिकै प्रयोगशील छ । १९८४ चैत्र ५ गते भक्तपुरमा जन्मेका लामिछानेको २०३२ माघ १० गते काठमाडौंमा निधन भयो ।

आफ्नो समयमा लामिछाने साथीभाइ बनाउन माहिर थिए । भारतीय राजदूत, विदेशी पर्यटक, अनुसन्धानकर्तादेखि स्वदेशी साहित्यकारसँग उनको दोस्ती थियो । नेपालमै रहेका आफ्नो समयका प्रखर लेखकसँग लामिछानेको बसउठ नहुने कुरै थिएन ।
असम भारतबाट आएका कवि हरिभक्त कटुवाल पनि लामिछानेका साथी थिए । उमेरमा हरिभक्तभन्दा नौ वर्ष जेठा लामिछानेलाई हरिभक्तले प्रेमपूर्वक ‘शंकर दाइ Û’ भनेर सम्बोधन गर्थे । चोटिला जीवनवादी कविता लेख्ने हरिभक्त र शंकर सहित्यका कुरामा मात्र होइन रक्सी खाने सवालमा पनि मिल्थे । उनीहरू दुवैजना पिउने मामिलामा विवादमा तानिरहन्थे ।

लेखनमा चारीको आरोप लागेपछि २०३२ सालको सुरुदेखि नै शंकर लामिछाने लेखनबाट टाढा बसेका थिए । यता हरिभक्त कटुवाल पनि कहिल्यै काठमाडौं फर्किन्नँ भनेर असम गएका थिए । अतिसय सुरापान र ब्रेन ट्युमरको समस्याबाट २०३२ माघ १० गते ४८ वर्षको उमेरमा लामिछानेको निधन भयो । निधनपछि त्यतिबेलाका साहित्यिक पत्रिकाहरूले शंकर लामिछाने विशेषाङ् प्रकाशित गरे । त्यहीमध्ये विदेह पत्रिकाले पनि लामिछाने विशेषाङ्क प्रकाशित गरेको थियो । त्यहाँ उनै कवि हरिभक्त कटुवालले आफ्ना प्रिय शंकर दाइमाथि अब्युचरि (स्मृति-लेख) लेखेका थिए ।

उक्त लेखमा हरिभक्तले शंकर लामिछानेको लेखनीभन्दा बढी व्यवहारिक कुराको प्रशंसा गरेका छन् । कटुवालले स्वर्ग र नर्कमा आफूलाई विश्वास नभएको तर शंकर लामिछाने जहाँ भएपनि एकपल्ट भेट्न पाए मज्जा हुने कुरा बताएका छन् । दुनियाँले मरेपछिमात्र प्रशंसा गर्ने पाखण्डी परम्परामा आफू नरहेको बताउँदै कटुवाललेे शंकर लामिछानेलाई जिउँदो छँदा नै असीम प्रेम र आदर गरेको बताएका छन् । कटुवाल व्यंग्य गर्छन्, ‘अब तिमीलाई महान् गद्य लेखक बनाइन्छ दाइ !’

निकै भावुक तर जीवनका कटु सत्य पक्रेर लेखेको यो लेखले मित्रताको सम्बन्धमाथि पाठकलाई सोच्न बाध्य गराउँछ । आफ्ना अति नजिकका साथीको निधन हुँदा एउटा कविको मनका कस्तो भावना उर्लिनेरहेछ भन्ने बोध यो लेख पढेपछि थाहा हुन्छ ।

‘विदेह’ २०३३ मा प्रकाशित यो लेख ‘शंकर लामिछाने स्मृति-दिवस’को अवसरमा सान्दर्भीक लागेर साभार गरेका छौं :

एकदिन त जसले पनि मर्नुपर्छ नै । मरेपछि पुगिने ठाउँ स्वर्ग हो वा नर्क त्यसमा मलाई विश्वास छैन । तर किन हो एकपल्ट विश्वास गर्न मन लागिरहेको छ यसबेला । कुनै दिन म पनि मर्छु र त्यतै कतै तिमीलाई भेट्न पाए कति मज्जा हुन्थ्यो शङ्कर दाइ ! कति मज्जा हुन्थ्यो ! मेची तरेपछि पनि एकपल्ट काठमाडौं आएको थिएँ । नयाँ भाउजूलाई साथमा लिएर तिमी अम्बरजी कहाँ आएका रहेछौ । म पनि संयोगले त्यहाँ पुगेको थिएँ । केही क्षण हामीले दुःख-सुखका कुराकानी साटासाट गर्यौं । तिमीले मैले लेखेका गीतहरूको प्रशंसा गर्यौ । तिमीले लेखन बन्द गरेका थियौ र नयाँ कुनै तिम्रो कृति पढ्न नपाएको मैले प्रशंसा गर्ने ठाउँ पाइनँ । अलमलिएको थिएँ । तर चुकिनँ । तिम्रो वचनबद्धताको नै प्रशंसा गरें ।

शङ्कर दाइ, अब तिम्रो स्मृतिमा विशेषाङ्कहरू निस्कन लागिरहेछन् । तिम्रो गुणगान खुब होला । माझिएको गद्य लेख्ने शङ्कर लामिछाने सराहनी अब होला । बाँचुञ्जेल तिमीलाई क-कसले केके भने त्यो मलाई थाहा छ । धेरैपल्ट म तिम्रो ज्यादै नजिक पुगेको थिएँ । अब तिमीलाई ‘महान् गद्य लेखक’ बनाइन्छ । अब तिमी अमर हुन्छौ । स्वर्गमै होस् वा नर्कमा तिमीलाई भेट्न पाए कति मज्जा हुन्थ्यो ।

भूपि बिरामी छन् । नगेन्द्र जागिरे भएछन् । म टाढा छु । तिमी झन् टाढा गयौ नआउने गरी । बिचरा अम्बरजी एक्लो परे । स्वर सङ्गीतको संसारबाट फुत्केर यसो गफगाफ गर्न अथवा बिदाको दिन रमाइलो हुने गरी बिताउन अचेल उनलाई कति गाह्रो पर्दो हो । अम्बरले गाएको होइन, तिमीले गाएको ‘नौलाख तारा उदाए’ हामीलाई त्यस्ता दिनहरूमा मनपथ्र्यो । म नाच्थेँ, थसुल्ली रत्ना भाउजू फूलको थुंगोजस्तो भएर नाच्थिन्, नगेन्द्र र सोफिया भाउजू नाच्थे, अम्बरनी नाच्थिन्, अम्बरजी ताल दिन्थे ।

अब ती दिन पककै नआउलान् । पेङ्ग्री गाउँको पट्यारलाग्दो वनमा जङ्गली हातीको जगजगी बोकेर गह्रुङ्गा पाइला चाल्दै जब म एक्लै हिँडिरहेको हुन्थें, त्यहाँ पनि हाम्रो त्यो रमाइलो भेटघाटले मलाई प्रेरित गरिरहेको हुन्थ्यो । प्रेरित गर्थ्यो तिम्रो मुस्कानले, जसमा आत्मविश्वासको एउटा सजीव छवि हुन्थ्यो । प्रेरित गर्थ्यो- मलाई तिम्रो हरेस नखाने बानीले । एकचोटी तिमीलाई मकहाँ पुर्याउने (असम) धोको धोको बनेर नै रहृयो । तर म हरेस खान्नँ । जिन्दगीको बाँकी रहेको यात्राभरि अब त स्मृति मात्र बन्ने भयौ तिमी । टाढा पुगेको मान्छेका लागि स्मृति नै त थियो । अब स्मृति मात्र रह्यो । तिमीले भनेका धेरै-धेरै कुराहरू मसित छन् । तिमीले रोएका आँसुहरू पनि मसित छन् । तिनैबाट म पे्ररणा लिन्छु, शङ्कर दाइ !

कवि बन्धु अगम (दार्जिलिङका कवि अगमसिंह गिरी) मर्दा मेरा एक जना आत्मीयले भनेका थिए रे ‘मर्नुपर्ने कटुवाल तर मरेछ अगमसिंह गिरी !’ यसपल्ट मैले आफैं भनें- मर्नुपर्ने कटुवाल । मर्न मलाई पनि रहर लागेको थियो । काठमाडौंमा एक वर्ष मर्ने ठूलो बल गरी हेरेँ । मुटु फुट्ने गरी रक्सी खाएँ । खुब मातेँ । सडकमा सुतेँ । तर, प्रत्येक बिहान ओछ्यानबाट मैले सजीव उठ्नुपर्‍यो । कस्तो काल पटक्कै आएन । जुन निगाहले मलाई काठमाडौं ल्यायो उही निगाहले बचायो । पीर नमानी फर्के ।

लेख्न अचेल घटेको छ । शिक्षाबिना अलमलिएका धेरै मान्छेहरूका लागि आफूलाई बिलाइदिएको छु । त्यहाँ मेरो ठूलो खाँचो रहेछ । मलाई पाएर धेरै-धेरै साथीहरू धेरै-धेरै रमाएका छन् । तिम्रो ओठको आत्मविश्वास मैले आफ्ना ओठभरि लिएको छु । केही गर्न मन लागिरहेको छ । तिमी चाँडै गयौ । तिमीले गर्न बाँकी छोडेका कुराहरू पनि गर्नु छ, गराउनु छ । मभित्र बाँच्ने रहर फेरि बलियो भएर उम्रेको छ । तर क्यू लाग्दैमा वा क्यू छोड्दैमा फुत्किन नदिने कालदेखि को उम्कन सक्छ र ?

स्वर्ग र नर्कलाई विश्वास नगर्दै पनि केही क्षण विश्वास गरेर भन्छु-उहीँ भेटुँला । यसपल्ट काठमाडौं आउँदा सबैलाई भेटें, मात्र तिमीलाई भेटिनँ ।

बोर गर्यौ शङ्कर दाइ ! बोर !

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!